आरोग्य संवादः आरोग्य वर्ष २०२७ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
काठमाडौँ ५ जेठ । आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित ‘आरोग्य संवाद: आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’ कार्यक्रम २०८३ जेठ ४ गते ललितपुरस्थित रोयल टुलिप होटल, ग्वार्कोमा सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, नीति निर्माता, पर्यटन तथा स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता थियो ।
कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको Nepal Wellness Year 2027, आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्ययोजना (सन् २०२६–२०३०) को प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा विस्तृत छलफल भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले नेपालमा विद्यमान प्राकृतिक सम्पदा, योग, ध्यान, आयुर्वेद, आध्यात्मिक परम्परा तथा जैविक विविधतालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार निर्माण गर्न सकिने बताउनुभयो । योग, ध्यान, अध्यात्म र आरोग्यसँग जोडिएका ऐतिहासिक तथा साँस्कृतिक आधार प्रस्तुत गर्दै यसलाई अर्थतन्त्रसँग जोड्नु पर्ने उहाँको धारणा थियो । उहाँले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यको विषयका रूपमा नभई मानसिक, सामाजिक र वातावरणीय आयामसँग जोडेर हेर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक भानु गुरुदेवले विश्व पर्यटन क्रमशः ‘वेलनेस टुरिजम’तर्फ रूपान्तरण भइरहेको बताउँदै त्यसका लागि नेपालमा भएका सम्भावनामा काम गर्नु पर्ने बताउनुभयो । स्वास्थ्य, ट्रेकिङ, धार्मिक, साँस्कृतिक, योग, ध्यान, प्राकृतिक उपचारलगायत विभिन्न अवयव आरोग्य पर्यटनभित्र समिटिने उल्लेख गर्दै उहाँले ‘वेलनेस टुरिस्ट’हरू अरू पर्यटक भन्दा बढी बस्ने र खर्च गर्ने अध्ययनहरूले देखाएको बताउनुभयो । आरोग्य पर्यटनलाई नेपालको आर्थिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने बताउँदै गण्डकी र लुम्बिनी प्रदेशलाई नमुना आरोग्य प्रदेशका रूपमा विकास गर्ने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक रमेश गुरुदेवले आरोग्यलाई जीवनशैली, व्यवहार र सामाजिक अभ्याससँग जोडेर अघि बढाउनुपर्ने बताउँदै ध्यानको अभ्यास गराउनु भयो ।
कार्यक्रममा सरकारले सार्वजनिक गरेको रणनीतिका विषयमा सरोकारवाला मन्त्रालय र निजी क्षेत्रको तर्फबाट उद्योगवाणिज्य संघका बीच साक्षात्कार गरिएको थियो । जसमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मुकुन्द निरौला, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र, परराष्ट्र मन्त्रालयका सहसचिव मनिरत्न शर्मा, उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण सञ्चाकर्मी निराजन भण्डारीले गर्नुभएको थियो ।
संवादका क्रममा सहभागीहरूले नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य र साझा दृष्टिकोण आवश्यक रहेको औँल्याएका थिए । साथै आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) को प्रभावकारी कार्यन्वयनका लागि अन्तरमन्त्रालय, निकाय र तीनैतहका सरकारको भूमिकाका विषयमा समेत चर्चा भयो ।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रका संयोजक पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आरोग्य पर्यटन र आरोग्य वर्ष सफल कार्यान्वयनका लागि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । सोही अवधारणाको आधारमा भएको संवाद कार्यक्रमले आरोग्य वर्ष २०२७ सफल बनाउन बहुपक्षीय सहकार्य, नीति कार्यान्वयनमा तीव्रता र अन्तर्राष्ट्रिय स्तरमा नेपालको आरोग्य पहिचान प्रवर्धन गर्नुपर्नेमा जोड दिएको छ । समग्र कार्यक्रमको सञ्चालन सोविता सिम्खडाले गर्नुभएको थियो ।
जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रले आगामी दिनमा आरोग्य पर्यटन, मानसिक स्वास्थ्य, योग–ध्यान, प्राकृतिक उपचार र समग्र आरोग्यसम्बन्धी नीति संवाद तथा अध्ययनलाई निरन्तरता दिनेछ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार
















