सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन शुक्र र भुवन संयुक्त शीर्षस्थानमा



काठमाडौं, ६ जेठ । सूर्य नेपाल च्यालेन्ज को दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी संयुक्त रूपमा शीर्षस्थानमा पुगेका छन्। दुवैले समग्रमा ८-अन्डर १२८ स्कोर बनाएका छन्।

दोस्रो दिन शुक्र र भुवनले समान ६-अन्डर ६२ को उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थान कब्जा गरेका हुन्। उनीहरूले धन बहादुर थापा लाई ३ स्ट्रोकले पछि पारे। धनले दिनकै उत्कृष्ट ७-अन्डर ६१ स्कोर बनाएर समग्रमा ५-अन्डर १३१ सहित तेस्रो स्थान कायम गरे।

समग्रमा ३-अन्डर १३३ स्कोरसहित रामे मगर, भुवन कुमार रोक्का र पहिलो दिनका अग्रता लिएका दिनेश प्रजापति संयुक्त रूपमा चौथो स्थानमा छन्।

दीपक मगर २-अन्डर १३४ सहित सातौं स्थानमा छन् भने नेपाल नम्बर एक गल्फर निरज तामाङ ले ४-अन्डर ६४ खेल्दै समग्रमा १-अन्डर १३५ सहित आठौं स्थान हासिल गरेका छन्।

यस्तै, रवि खड्का र सञ्जय लामा इभन–पार १३६ स्कोरसहित संयुक्त नवौं स्थानमा छन्।

एमेच्योरतर्फ राष्ट्रिय टोलीका सदस्य राहुल विश्वकर्मा २-अन्डर १३४ स्कोरसहित अग्रस्थानमा छन्। उनले स्वप्निल भट्टराई लाई १ स्ट्रोकले पछि पारेका छन्।

३६ होलको समाप्तिपछि १८ प्रो र ४ एमेच्योर गरी कुल २२ खेलाडीले कट बनाउन सफल भएका छन्।

प्रतियोगितामा कुल ५२ खेलाडी सहभागी छन्। पीजीए नेपाल द्वारा आयोजित तथा सूर्य नेपाल प्रालि को प्रायोजन रहेको चारदिने ७२ होल प्रतियोगिताको कुल पुरस्कार राशि रु ७ लाख १० हजार रहेको छ।

प्रतियोगिताको विजेताले रु १ लाख ३० हजार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ९० हजार र रु ७० हजार पुरस्कार पाउनेछन्। चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः रु ५५ हजार र रु ४६ हजार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट १८ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि पुरस्कार पाउनेछन्।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार