सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने



धनगढी, ६ जेठ । बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । 

प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो ।  बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । यसअघि, वैशाख १७ गतेबाट आठौं अधिवेशन सुरु भएको थियो । 

अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले आठौं अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । यसैगरी, दलका नेताहरुलाई समसामयिक विषयका साथै चालु अधिवेशनको सफलताको कामनासहित शुभकामना आदानप्रदानका लागि विशेष समय उपलब्ध गराइएको थियो । 

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार