नागरिक लगानी कोषले नबिल बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने



काठमाडौँ, १४ जेठ । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेड बीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका निर्देशक छविरामण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गरिनेछ । बैंकका कर्मचारीले मासिक वा वार्षिक रूपमा कोष कट्टी गरी नियमित रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । नागरिक लगानी कोषले कर्मचारीको व्यक्तिगत खाता सञ्चालन गरी अभिलेख राख्ने र बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्नेछ ।

यसैगरी, कर्मचारीले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम तथा कार्यविधिअनुसार ब्याज, प्रतिफल र अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । बैंकको अवकाश कोष योजनाअन्तर्गत व्यक्तिगत खातामा रहेको रकम, ऋण र लगानीसम्बन्धी विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

सम्झौताअनुसार कोषले अवकाश वा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसका लागि बैंकले कर्मचारीको विवरण उपलब्ध गराउने, नियमित रूपमा कट्टा भएको रकम कोषमा जम्मा गर्ने तथा सेवानिवृत्त कर्मचारीको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्नेछ ।

त्यस्तै, आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साविकका अवकाश कोषमा रहेको बैंकका कर्मचारीको अवकाश, उपदान तथा अतिरिक्त अवकाश कोषको रकम नागरिक लगानी कोषमा रकमान्तरण गरिने व्यवस्था पनि सम्झौतामा समेटिएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार