गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको विशेष डाटा अफर सार्वजनिक
काठमाडौँ १३ जेठ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ ल्याएको छ ।
अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।
‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक ५ जीबी सीमा पूरा भएपछि बाँकी अवधिभर २ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा उपलब्ध हुने जनाइएको छ ।
त्यस्तै, ‘न्यु इयर प्रिमियम’ प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । निर्धारित सीमा सकिएपछि प्रयोगकर्ताले ३ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।
दुवै प्याकेजको अवधि ३० दिनको रहनेछ । ग्राहकले २०८३ जेठ १४ देखि १६ गतेसम्म उक्त प्याकेज खरिद गर्न सक्नेछन् ।
पोस्टपेड प्रयोगकर्ताका हकमा प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ ।
ग्राहकले अफर प्राप्त गर्न मोबाइलबाट १४१५११३# डायल गर्न सक्नेछन् । साथै, नेपाल टेलिकम एपमार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार







