राष्ट्रपतिलाई आगामी बजेटबारे वाग्लेकाे ब्रिफिङ
काठमाडौँ, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल लाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकता र सिद्धान्तबारे जानकारी गराएका छन् ।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय पुगेर उनले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धमा राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले सङ्घीय संसद्मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ।
नेपालको संविधानअनुसार अर्थमन्त्री डा. वाग्लेले जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार







