कुन परियाेजनाले कति पाए बजेट?



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेकाे २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ बराबरको बजेटमा कुन परियाेजनामा कति रकम विनियाेजन गरियाे सबैकाे चासाे छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ अर्थात् ५९ दशमलव ८ प्रतिशत बजेट छुट्याइएको बताए ।

यस्तै, पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब ६४ करोड रुपियाँ विनियोजन गरिएको छ ।

बजेटमा पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड, तराई–मधेस द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, हुलाकी राजमार्गका लागि चार अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि एक अर्ब र पुष्पलाल मध्यपहाडी राजमार्गका लागि दुई अर्ब १६ करोड रुपियाँ विनियोजन गरिएको छ ।

त्यसैगरी मदन भण्डारी राजमार्गका लागि एक अर्ब ४६ करोड, राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुलका लागि नौ अर्ब ८७ करोड र पृथ्वी राजमार्गका लागि छ अर्ब ५५ करोड बजेट छुट्याइएको छ ।

सरकारले सडक तथा सहरी पूर्वाधार विकासका लागि २ खर्ब ८६ अर्ब ४८ करोड रुपियाँ विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइतर्फ ३७ अर्ब १७ करोड, ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड तथा प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि ७० अर्ब बजेट छुट्याइएको छ ।

सिँचाइतर्फ राजापुर–भेरी बबई डाइभर्सन आयोजनाका लागि पाँच अर्ब ६३ करोड, सिक्टा सिँचाइ आयोजनाका लागि दुई अर्ब ५५ करोड र सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि दुई अर्ब ९८ करोड रुपियाँ विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड, स्वास्थ्य क्षेत्रका लागि एक खर्ब एक अर्ब ९५ करोड र स्वास्थ्य बिमा कार्यक्रमका लागि १५ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए ।

सामाजिक सुरक्षातर्फ एक खर्ब २० अर्ब, कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड तथा रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपियाँ छुट्याइएको छ ।

त्यसैगरी संस्कृति तथा पर्यटन क्षेत्रका लागि सात अर्ब ३४ करोड, नागरिक उड्डयन क्षेत्रका लागि दुई अर्ब ९३ करोड, उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि आठ अर्ब ३१ करोड तथा विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रका लागि चार अर्ब बजेट विनियोजन गरिएको छ ।

बजेटमा खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड, सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड तथा नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमका लागि दुई अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार