व्यक्तिगत आयकर छुट सीमा दोब्बर



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यक्तिगत आयकर छुटको सीमा दश लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ, याे विगतको तुलनामा दोब्बर हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत विन्दुले घटाउने पनि जानकारी दिए।

यसका साथै औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा दर घटाइएको छ। विद्यमान एघार तहको भन्सार दरलाई सात तहमा सीमित गरिएको छ।

हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ। भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत लगायतका छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको छ।

डिजिटल भुक्तानीमार्फत खरिद गर्दा मूल्य अभिवृद्धि करमा १० प्रतिशत छुट पाउने व्यवस्था पनि कार्यान्वयनमा आउने घोषणा गरिएको छ। सूचीकृत कम्पनीका सेयरमा पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था पनि मिलाइएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार