काठमाडौँबाट पूर्व चल्ने सार्वजनिक बसमा सिसी क्यामरा र जिपिएस जडान, टिकट पनि अनलाइनमार्फत काट्न सकिने
काठमाडौँ, १५ जेठ । काठमाडौँबाट पूर्वी नेपालका विभिन्न गन्तव्यमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा र जिपिएस प्रणाली जडान गरिएको छ । साथै यात्रुले अनलाइनमार्फत टिकट काट्न सक्ने व्यवस्था पनि गरिएको छ ।
सरकारले सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गर्ने तयारी गरिरहेका बेला पूर्व यातायात व्यवस्थापन प्रालिले नयाँ बसपार्कबाट पूर्वतर्फ सञ्चालन हुने आफ्ना सबै सवारीसाधनमा उक्त प्रविधि जडान गरेको हो ।
पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले नयाँ बसपार्कबाट पूर्वका विभिन्न गन्तव्यमा सञ्चालन हुने ८१ वटा सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गरिएको बताए ।
काठमाडौँ–पूर्व सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई २०८० साउनदेखि एउटै कम्पनीअन्तर्गत आबद्ध गरेर सञ्चालन गरिँदै आएको छ ।
हाल उक्त कम्पनीमार्फत तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काँकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर, कटारी, जनकपुर, राजविराज र वीरगञ्जलगायत गन्तव्यमा सार्वजनिक यातायात सेवा सञ्चालन भइरहेको छ ।
कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारले अघि सारेको यातायात व्यवस्थापनसम्बन्धी कार्ययोजनालाई कम्पनीले कार्यान्वयनमा ल्याएको बताए ।
उनले यात्रुको सामान व्यवस्थापनलाई थप व्यवस्थित बनाउन छिट्टै ‘लगेज ट्याग’ प्रणाली लागू गरिने जानकारी दिए । साथै पूर्वी क्षेत्रका यात्रुको सुविधाका लागि कम्पनीले अनलाइन टिकट प्रणालीसमेत सञ्चालनमा ल्याइसकेको बताए ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार







