राष्ट्रपति रनिङ शिल्डका लागि कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु



सुनसरी, १७ जेठ । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ। सुनसरीको इटहरीस्थित रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले गरे।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट एक हजार ७०० खेलाडीको सहभागिता रहेको बताए।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ विधाका खेल समावेश गरिएका छन्। प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौँमा हुने १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने घोषले बताए।

उनका अनुसार सोमबार सम्पन्न हुने प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी काठमाडौँका लागि बिदाइ गरिनेछ। कोशी प्रदेशबाट ११५ खेलाडी तथा पदाधिकारीको टोली राष्ट्रिय प्रतियोगितामा सहभागी हुन काठमाडौँ जानेछ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा काठमाडौँमा यही जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६६० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाइएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार