विश्व शान्तिमा नेपालको सात दशक लामो योगदान



काठमाडौँ, १७ जेठ । विश्व शान्ति स्थापना र द्वन्द्वग्रस्त मुलुकहरूमा स्थायित्व कायम गर्न नेपालले सात दशकभन्दा बढी समयदेखि निरन्तर योगदान दिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक खटाउने मुलुकका रूपमा नेपाल विश्वमै अग्रस्थानमा रहेको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेपछि नेपालले सन् १९५८ मा लेबनानमा पाँच जना सैन्य पर्यवेक्षक पठाएर शान्ति मिसनमा सहभागिता सुरु गरेको थियो । हालसम्म नेपाली सेनाले ४४ भन्दा बढी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागिता जनाइसकेको छ ।

पछिल्लो सात दशकमा करिब एक लाख ६५ हजारभन्दा बढी नेपाली सैनिक, अधिकृत तथा सैन्य पर्यवेक्षकले अफ्रिका, मध्यपूर्व, क्यारिबियनलगायत विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा सेवा प्रदान गरिसकेका छन् । कङ्गो, दक्षिण सुडान, लेबनान, माली, हैटी, सिरिया र लाइबेरियाजस्ता मुलुकमा नेपाली शान्ति सैनिकहरूले सुरक्षा व्यवस्थापनसँगै मानवीय सहायता, पूर्वाधार निर्माण, स्वास्थ्य सेवा, शिक्षा सहयोग र विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि जयराज आचार्य ले नेपाली शान्ति सैनिकको योगदानलाई विश्वसनीयता र समर्पणको अद्वितीय उदाहरणका रूपमा व्याख्या गरेका छन् । उनले नेपाली शान्ति सैनिकको व्यावसायिकता, वीरता र बलिदानका कारण नेपाल शान्ति सैनिक खटाउने मुलुकमध्ये पहिलो स्थानमा पुग्न सफल भएको बताए ।

उनका अनुसार आफू संयुक्त राष्ट्रसङ्घमा कार्यरत रहँदा लेबनानमा ८८१ नेपाली शान्ति सैनिक तैनाथ थिए, जसलाई बढाएर दुई हजार ४०० पुर्‍याइएको थियो । उनले १० हजार शान्ति सैनिक खटाउने नेपालको प्रतिबद्धताले नेपालप्रति संयुक्त राष्ट्रसङ्घको विश्वास अझ बलियो बनेको बताए ।

नेपाल महिला शान्ति सैनिकको सहभागितामा पनि विश्वमै अग्रस्थानमा रहेको छ । महिला सैनिकहरूको उल्लेखनीय सहभागिताले नेपाललाई लैङ्गिक समावेशिता र महिला सशक्तीकरणको उदाहरणीय राष्ट्रका रूपमा स्थापित गरेको छ ।

यद्यपि, शान्ति स्थापनाको यात्रामा नेपालले ठूलो मूल्य पनि चुकाएको छ । हालसम्म विभिन्न शान्ति मिसनका क्रममा ७४ जना नेपाली शान्ति सैनिकले ज्यान गुमाएका छन् भने ७७ जना घाइते वा स्थायी रूपमा अशक्त भएका छन् ।

शान्ति मिसनका लागि दक्ष जनशक्ति उत्पादन गर्न काभ्रेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र ले संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुसार विशेष तालिम प्रदान गर्दै आएको छ । केन्द्रले नेपाली सैनिकका साथै विभिन्न देशका सुरक्षाकर्मीलाई समेत प्रशिक्षण दिँदै आएको छ ।

पूर्वरथी आशाबहादुर तामाङले नेपाललाई सगरमाथा र गौतम बुद्धको भूमिमात्र नभई विश्व शान्तिको सक्रिय योगदानकर्ता राष्ट्रका रूपमा स्थापित गर्न नेपाली शान्ति सैनिकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

नेपाली शान्ति सैनिकहरूको अनुशासन, निष्पक्षता र व्यावसायिक दक्षताले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्दै आएको छ । यही कारण नेपाल आज विश्व शान्ति स्थापनाको अभियानमा अग्रणी राष्ट्रका रूपमा परिचित बनेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार