हिमालय एअरलाइन्स्ले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्ने
काठमाडौँ, १८ जेठ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स्ले आगामी जुन ४, २०२६ देखि काठमाडौँ र चीनको शेन्जेनबीच सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ ।
कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच सातामा दुई पटक सिधा उडान सञ्चालन गर्न लागेको जनाएको छ । यो उडानलाई नेपाल–चीन हवाई सम्पर्क विस्तारको दृष्टिले ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
हिमालय एअरलाइन्सका अनुसार काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि बुधबार र शुक्रबार उडान सञ्चालन गरिनेछ । यात्रुको मागअनुसार भविष्यमा उडान सङ्ख्या थप गर्ने योजना पनि कम्पनीले बनाएको छ ।
कम्पनीले नयाँ सेवाले नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन, व्यापार र जनस्तरको सम्पर्क विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । साथै यात्रुहरूलाई सहज, सुरक्षित र गुणस्तरीय यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले शेन्जेन उडान कम्पनीको चीन केन्द्रित विस्तार योजनाको महत्वपूर्ण कडी भएको बताए । उनले नयाँ रुटले दुई देशका नागरिकबीचको सम्बन्ध सुदृढ गर्न, पर्यटन प्रवर्द्धन गर्न तथा व्यापारिक अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले हिमालय एअरलाइन्स्ले उच्च सुरक्षा मापदण्ड कायम राख्दै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रयासरत रहेको पनि बताए ।
काठमाडौँ–शेन्जेन उडानका लागि टिकट कम्पनीका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल एजेन्सी, मोबाइल एप तथा हिमालय एअरलाइन्सको आधिकारिक वेबसाइट मार्फत बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार







