फरार रहेका वीरगन्जका मेयर राजेशमान सिंह रिसोर्टबाट पक्राउ



पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा मेयर सिंह आज बिहान जिल्लाको ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १२ जेठमा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

प्रारम्भिक विवरणअनुसार, सिंह जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेर १० जेठ २०७९ मा मेयरमा निर्वाचित भएका थिए । २०८० कै पुसको अन्तिमतिर मेयर सिंहले आफू नक्कली बाबु बनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो ।

यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए ।

त्यसपछि मेयर सिंहले नक्कली कागजातका आधारमा अर्काको छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता जारी गराएको आरोपसहित जाहेरी परेको थियो ।

वीरगन्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले पक्राउ गर्न अनुमति दिएको थियो ।

पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक हुनासाथ मेयर सिंह भने मोबाइल अफ गरेर सम्पर्कबिहीन भएका थिए ।

भोलिपल्ट बुधबार भने उनी आफैं अदालत उपस्थित भएको विषय पनि सार्वजनिक भएको थियो । तर, अदालतले उनीमाथिको मुद्दाको कारबाही तत्काल नहुने जानकारी गराएको बताइएको छ ।

त्यसपछि फेरी फरार भएका मेयर सिंहलाई एक सातापछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि प्रहरीले मेयर सिंहको घर समेत खानतलासी गरेको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार