नेपाल एसियन गेम्स पुरुष क्रिकेटका लागि छनोट
काठमाडौँ, १९ जेठ । नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।
मलेसियामा जारी छनोट प्रतियोगिताअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले पराजित गरेपछि नेपालले जापानमा आयोजना हुने आगामी एसियन गेम्समा स्थान सुरक्षित गरेको हो ।
जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८४ रन बनाएको थियो ।
यस जितसँगै मलेसियाले पनि एसियन गेम्समा स्थान बनाएको छ । लगातार दोस्रो हार बेहोरेको चीन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अब समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसियाबीच बिहीबार प्रतिस्पर्धा हुने छ ।
नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन् । प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुने प्रावधान रहेको छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार







