माझ किरात खोटाङमा वृहत साकेला सिली प्रदर्शनीसहित उभौली पर्व समापन



खोटाङ, ३० जेठ । किरात समुदायको महान् पर्व साकेला (उभौली) २०८३ माझ किरात खोटाङमा हर्षोल्लासका साथ समापन गरिएको छ ।

खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस् र प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिना दिनसम्म मनाइने साकेला (उभौली) पर्व जेठ ३० गते वृहत् साकेला सिली प्रदर्शनी गर्दै समापन गरिएको हो ।

किरात राई यायोक्खा खोटाङ र किरात सेवा समाज दिक्तेलको आयोजनामा जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजित वृहत् साकेला सिली प्रदर्शनीमार्फत यस वर्षको उभौली पर्व समापन गरिएको यायोक्खाका अध्यक्ष युगसन किरातले बताए ।

मौलिक भेषभूषामा सजिएका किरात समुदायका बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकहरूको सहभागितामा साकेला सिली प्रदर्शन गर्दै पर्वलाई जीवन्त बनाइएको थियो । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र बाली भित्र्याउने बेला मङ्सिर पूर्णिमाका अवसरमा वर्षमा दुई पटक मनाइन्छ ।

किरात समुदायको घना बसोबास रहेको माझ किरात खोटाङका गाउँ–बस्तीमा साकेला सिली प्रदर्शन गर्दै एक महिनासम्म उभौली पर्व मनाउने परम्परा छ । तीन चुल्हा पूजा तथा साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीत, ढोल र झ्याम्टाको तालमा गोलो घेर बनाएर सिली टिप्दै नाच्ने गरिन्छ ।

उभौली पर्वका अवसरमा किरात राईहरूको ऐतिहासिक थलो तुवाचुङ–जायाजुङ, रुपाकोट, मेरुङ, मझुवागढी, जन्तेढुङ्गालगायत धार्मिक तथा पर्यटकीय स्थल र विभिन्न साकेला थानमा साकेला नाच्ने परम्परा रहेको छ ।

चराचुरुङ्गी तथा जीवजन्तुको चालको नक्कल गर्दै ढोल–झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहित खुला आकाशमुनि सामूहिक रूपमा साकेला नाचिने गरिन्छ । साकेला नृत्यमा खोरिया फाँड्ने, अन्नबाली रोप्ने, गोडमेल गर्ने र बाली भित्र्याउनेजस्ता कृषि गतिविधि शरीरको हाउभाउ र अभिनयमार्फत प्रस्तुत गरिने अध्यक्ष किरातले बताए ।

साकेला पर्व पूर्वी नेपालका खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेका क्षेत्रमा विशेष उत्साहका साथ मनाइने गरिएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्