निको कप महिला टी–२० : एपीएफ र बागमतीको शानदार जित



जनकपुरधाम, १० असार । जनकपुरधाममा जारी निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न दुई खेलमा एपीएफ क्लब र बागमती प्रदेश विजयी भएका छन् ।

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि करुणा विष्टले १४ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपीएफका लागि सवनम राई र सीता रानामगरले समान २–२ विकेट लिए । कविता जोशी, राजमति ऐरी र रेवती धामीले समान १–१ विकेट लिए ।

६८ रनको लक्ष्य पछ्याएको एपीएफले १० ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ७ विकेटको सहज जित निकालेको हो ।

त्यसैगरी दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । बागमतीका लागि सोनी पाख्रिनले ३४ बलमा ७ चौकासहित अविजित ५४ रन बनाइन् । हलिसा गुरुङले २८ तथा कञ्चन श्रेष्ठले २५ रनको योगदान दिइन् ।

गण्डकीका लागि यशोदा भुजेल र सीमना केसीले समान १–१ विकेट लिए ।

१३१ रनको लक्ष्यसहित मैदान उत्रिएको गण्डकी ११.५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । बागमतीले ९० रनको प्रभावशाली जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्