नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले तोक्यो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि



काठमाडौँ, १० असार । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

तोकिएका केन्द्रीय प्रतिनिधिले असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई सदस्यता वितरण, समन्वय, सहजीकरण तथा आवश्यक जिम्मेवारी निर्वाह गर्नेछन् ।

कांग्रेसले महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन सदस्यता वितरण तथा अद्यावधिक अभियानलाई तीव्रता दिइरहेको जनाएको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्