तीन बुँदे सहमतिपछि सूर्योदयका बन्द चिया उद्योग शुक्रबारदेखि खुल्ने



इलाम, १० असार । नेपाली चिया भारत निर्यातमा समस्या आएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग तीन बुँदे सहमतिपछि शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन् ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चियाको निर्यात प्रभावित भएपछि बन्द भएका उद्योग सञ्चालनका लागि आज भएको छलफलपछि सहमति जुटेको हो ।

सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थापन गर्ने, निर्यात सहज नहुन्जेल किसानको भुक्तानी उद्योगले केही समय बाँकी राख्ने तथा विषादी पूर्ण रूपमा नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादन गर्ने सहमति भएको चिया समस्या समाधान समितिका संयोजक पेमा उगेन लामाले बताएका छन् ।

भारत निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाभित्रका ५३ वटा चिया उद्योग बन्द भएका थिए । संयोजक लामा, कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बराल, एसोसिएसनका कार्यवाहक अध्यक्ष ज्ञानु लिम्बुलगायत जनप्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि किसानको चिया खेर जान नदिन उद्योग सञ्चालन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार निर्यात नभई थन्किएको करिब १० लाख किलोग्राम अर्थोडक्स चिया भण्डारण गर्न नगरपालिकाले व्यवस्थित भण्डार कक्षको व्यवस्था गर्ने भएको छ । आवश्यक परे एक सिजनमा उत्पादन हुने ३० लाख किलोग्रामसम्म चिया भण्डारण गर्न सकिने व्यवस्था मिलाइने जनाएको छ ।

भण्डारण गरिएको चियाको सुरक्षाको जिम्मेवारी पनि नगरपालिकाले लिने भएको छ । भण्डार कक्ष व्यवस्थापनका लागि आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा उद्योगीसहितको समिति गठन गरिएको छ । उक्त समितिले एक साताभित्र भण्डार कक्ष व्यवस्थापन गर्ने जनाएको छ ।

चिया निर्यातमा अवरोध कायम रहेकाले बजार सहज नभएसम्म किसानको भुक्तानी गर्न उद्योगी सक्षम नभएको भन्दै अस्थायी रूपमा भुक्तानी रोक्ने सहमति भएको छ ।

कार्यवाहक नगरप्रमुख बरालले विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादनका लागि शुक्रबारदेखि नगरपालिकाका १० वटै वडामा किसान, उद्योगी र नगरपालिकाबीच सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन् । चियाको गुणस्तर सुधार नभएसम्म निर्यात समस्या दोहोरिन सक्ने भएकाले किसानलाई सचेत बनाउने अभियान सुरु गरिएको उनले बताएका छन् ।

लामो समय उद्योग बन्द हुँदा सूर्योदयका किसानले हरियो चिया झापाका सिटिसी उद्योगमा बिक्री गर्दै आएका छन् । दैनिक ६० देखि ७० गाडीसम्म हरियो चिया झापा जाने गरेको जनाइएको छ ।

कार्यवाहक नगरप्रमुख बरालले तीनै तहका सरकारले चिया निर्यातको समस्या समाधानका लागि पहल गरिरहेको अवस्थामा किसान र उद्योगी पलायन हुन नदिन उद्योग सञ्चालनको वातावरण बनाइएको बताएका छन् ।

संघीय सरकारले पनि चिया क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समिति केही दिनभित्र इलाम पुगेर स्थलगत अध्ययन गर्ने तयारीमा रहेको जनाइएको छ ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष लिम्बुले उद्योग बन्द हुँदा किसान र उद्योगी दुवै समस्यामा परेकाले निर्यात सहज हुने अपेक्षासहित उद्योग सञ्चालनमा सहमति भएको बताएका छन् ।

सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतको दिल्ली, कोलकाता र सिलिगुडी पुगेको करिब दुई लाख ५० हजार किलोग्राम नेपाली चिया परीक्षणको प्रक्रियामा रोकिएको छ ।

भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर’ (एसओपी) अनुसार नेपालबाट निर्यात हुने प्रत्येक खेपको चिया अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि समस्या उत्पन्न भएको हो ।

उद्योगीहरूका अनुसार प्रत्येक सवारीको नमुना परीक्षणका लागि ११ हजार ५०० भारतीय रुपैयाँ शुल्क लाग्ने र प्रतिवेदन आउन १५ दिनभन्दा बढी समय लाग्ने भएकाले निर्यात प्रक्रिया जटिल बनेको छ ।

नेपालले वार्षिक करिब १५ हजार ६ सय मेट्रिक टन चिया निर्यात गर्दै आएको छ । त्यसमध्ये ८६ प्रतिशत चिया भारतमै निर्यात हुने गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१–८२ मा नेपालले एक करोड ५६ लाख केजी चिया निर्यात गरी चार अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको थियो ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्