पार्किङबाट हराएको पेट्रोल ट्याङ्कर फेला, ९७३ लिटर इन्धन चोरी
विराटनगर, १० असार । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाट हराएपछि सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ ।
इण्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते बिहान गायब भएको थियो । नविन ढुवानी सेवा प्रालिको उक्त ट्याङ्कर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई दिएका थिए ।
ट्याङ्कर हराएलगत्तै निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराएको थियो । सीसीटीभी फुटेज जाँचका क्रममा ट्याङ्कर असार ८ गते बिहान ३:०३ बजे पार्किङबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो ।
त्यसपछि निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताले खोजी तीव्र बनाएका थिए । खोजीका क्रममा विराटनगर डिपोबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे तथा ताला काटिएको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी ट्याङ्कर नियन्त्रणमा लिइएको थियो । थप अनुसन्धानका लागि सुनसरी प्रहरीले कागजात मोरङ प्रहरीलाई बुझाएको छ । ट्याङ्करलाई निगमको पार्किङमा ल्याएर सिल गरी राखिएको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार तथा सरोकारवालाको रोहबरमा ट्याङ्करको सिल खोलेर गुणस्तर र परिमाण परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा पेट्रोलको गुणस्तर ठीक रहेको पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ । ट्याङ्करमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ ।
नेपाल आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर बराबरको रकम ढुवानीकर्ताबाट असुल गरिएको कोशी प्रादेशिक कार्यालय प्रमुख पुस्कर कार्कीले बताएका छन् ।
यस घटनासम्बन्धी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक तथा आधारहीन समाचारप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको यथार्थ जानकारी नलिई प्रकाशित तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै निगमले सरकारी निकायबाट विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












