कार्यगत एकतामार्फत अघि बढ्नुपर्नेमा ओलीको जोड
काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्ने शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँगको सुझाव सङ्कलन कार्यक्रममा उनले नीति, विचार र उद्देश्य मिल्ने व्यक्ति तथा शक्तिहरू कार्यगत एकतामा आउन सक्ने बताए।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारका पालामा देशको विकास र जनताको हितमा ऐतिहासिक तथा असाधारण काम गरिएको दाबी गरे।
“देशको राजनीतिक र सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ। अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौँ,” उनले भने, “हामी फेरि पनि उठ्न सक्छौँ। पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ।”
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति थियो।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












