१८ वर्षमुनिका सदस्य रहेको समाचार तथ्यपरक नभएको रास्वपाको स्पष्टोक्ति
काठमाडौँ, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनको साङ्गठनिक प्रतिवेदनमा उल्लेख गरिएको सदस्यतासम्बन्धी तथ्याङ्कलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचार तथ्यपरक नभएको स्पष्ट पारे।
विज्ञप्तिमा रास्वपा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रचलित कानुन तथा बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। १८ वर्ष पूरा भएका नेपाली नागरिक मात्रै पार्टी सदस्य हुन पाउने कानुनी व्यवस्था रहेकाले बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने नीति, अभ्यास वा उद्देश्य नरहेको विज्ञप्तिमा जनाइएको छ।
रास्वपाले आफ्नो डिजिटल सदस्यता प्रणालीमा ‘सदस्यता आवेदन’, ‘प्रमाणीकरण’ र ‘अन्तिम स्वीकृति’ फरक–फरक प्रशासनिक तथा प्राविधिक चरण रहेको जनाएको छ। मोबाइल एप वा वेबसाइटमार्फत जोसुकैले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि नागरिकता वा अन्य आधिकारिक प्रमाणका आधारमा प्रमाणीकरण भएपछि मात्र अन्तिम स्वीकृति दिइने उल्लेख गरिएको छ।
महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क डिजिटल प्रणालीमा रहेका प्रारम्भिक आवेदनको समष्टिगत विश्लेषण मात्र भएको र प्रमाणित तथा अन्तिम रूपमा स्वीकृत सदस्यहरूको आधिकारिक अभिलेख नभएको आचार्यले बताए।
उनका अनुसार आवेदन दिने क्रममा विक्रम संवत् र इस्वी संवत् गलत छनोट, जन्ममिति टाइप गर्दा भएको त्रुटि वा जन्ममितिको सट्टा हालको मिति प्रविष्ट गरिएकाले केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रास्वपाका अनुसार डिजिटल प्रणालीमा दर्ता भएका पाँच लाख २३ हजार ४६५ सदस्यता आवेदनमध्ये तीन लाख ९० हजार ११२ सदस्यको विवरण नागरिकतालगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रक्रियामै छन्।
पार्टीले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको जनाएको छ। भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन १८ वर्षभन्दा कम उमेरका आवेदन स्वतः रोक्ने व्यवस्था लागू गर्ने, प्रमाणीकरण भएका अभिलेखको पुनः परीक्षण गर्ने र गल्तीवश स्वीकृत सदस्यता भेटिए तत्काल खारेज गर्ने प्रतिबद्धता जनाएको छ।
रास्वपाले पर्याप्त परीक्षण र प्रमाणीकरण नहुँदै प्रारम्भिक आवेदनमा आधारित तथ्याङ्क सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक र सञ्चारमाध्यममा भ्रम उत्पन्न भएकोमा दुःख व्यक्त गरेको छ। सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गरिने आचार्यले बताए।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












