त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त



काठमाडौँ, १७ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।

यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएकी छन्। दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको जनाइएको छ।

शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले प्राप्त आवेदनको अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।

समितिले गत जेठमा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनको योग्यता, अनुभव, नेतृत्व क्षमता र कार्यसम्पादनको मूल्याङ्कनपछि योग्य उम्मेदवारको नाम सिफारिस गरिएको थियो।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा काम गरेका छन्। उनले सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा कार्य गरेका थिए।

थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको विज्ञ सदस्यका रूपमा पनि उनले योगदान दिएका थिए। हाल उनी नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजनाविज्ञ तथा काठमाडौँ विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्। आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा उनको लामो अनुभव रहेको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्