बिचाैलियासँगै कार्यालयभित्र मादक पदार्थ सेवन गरिरहेकाे अवस्थामा भूमि प्रशासनका कर्मचारी पक्राउ
बर्दिया । बिचाैलियासँगै कार्यालयभित्र मादक पदार्थ सेवन गरिरहेकाे अवस्थामा भूमि प्रशासन कार्यालय गुलरिया बर्दियाका कर्मचारी पक्राउ परेका छन् ।
कार्यालयभित्रै मादक पदार्थ सेवन गरिरहेकाे अवस्थामा बिचाैलियासहित कर्मचारी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सोही कार्यालयमा खरिदार पदमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ११ बस्ने युवराज आचार्य, सोही कार्यालयका सवारीचालक बारबर्दिया नगरपालिका वडा नं ७ बस्ने गुणबहादुर चौधरी रहेका छन् ।
त्यसैगरी गुलरिया नगरपालिकाद्वारा सञ्चालित भू-सेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका वडा नं ६ बस्ने सन्तोष राना रहेका छन् भने गुलरिया नगरपालिका वडा ४ बस्ने बिचौलीया सुभा थारू र दिलमाया डाँगी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बिचाैलियासँगै कार्यालयभित्र मादक पदार्थ सेवन गरिरहेकाे अवस्थामा भूमि प्रशासन कार्यालय गुलरिया बर्दियाका कर्मचारी पक्राउ परेकाे पुष्टि गरे । उनका अनुसार पक्राउ परेकाहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरीरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक रेशम बोहराले बताए । कार्यालयमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा सेवाग्राहीले थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । उक्त सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको कमाण्डमा प्रहरी सहित टोली त्यहाँ पुगेर छापा मारेकाे थियाे ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार







