कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त
सुर्खेत, १२ साउन । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले सोमबार शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री नियुक्तिका लागि नेकपाका १४ र नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले शाहीलाई समर्थन गरेका थिए। दुवै दलको निर्णय तथा प्रदेशसभाको बहुमत सदस्यको समर्थनका आधारमा शाहीलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए।
नेकपा र एमालेबीच भएको सत्ता गठबन्धनअनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेकपा संसदीय दलका नेता शाही मुख्यमन्त्री नियुक्त भएका हुन्।
शाही कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री बनेका छन्।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार







