सुनसरीमा हिंसा बढेपछि हेलिकप्टरबाट गस्ती सुरु



विराटनगर, १२ साउन । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न स्थानमा तनाव बढेपछि हेलिकप्टरमार्फत हवाई गस्ती सुरु गरिएको छ।

देवानगञ्ज घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनका क्रममा निजी सम्पत्ति तथा पसलहरूमा तोडफोड र आगजनीका घटना भएपछि सुरक्षा निगरानी थप कडा बनाउँदै हेलिकप्टरबाट गस्ती सुरु गरिएको सुरक्षा स्रोतले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा, भोक्राहा, हरिपुर र लौकही क्षेत्रमा दुवै समुदायका प्रदर्शनकारीहरूले आन्दोलन चर्काएपछि सोमबार दिउँसोदेखि कर्फ्यु आदेश जारी गरिएको छ।

कर्फ्यु लागू भएपछि नेपाली सेना पनि सडकमा परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगरा गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत कर्फ्यु आदेश जारी गरेको जनाएको छ।

आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप भएको थियो। झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको सुनसरी प्रहरीले जानकारी दिएको छ। प्रशासनले शान्ति सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार