आक्रमणका दोषीलाई कारबाही नगरेको भन्दै चिकित्सक संघद्वारा आन्दोलन जारी राख्ने घोषणा



काठमाडौं, १२ साउन । नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द राख्ने निर्णय गरेको छ।

संघले मंगलबार साँझ बसेको आकस्मिक बैठकपछि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीमाथि कानुनी कारबाही गर्न सरकार उदासीन बनेको आरोप लगाएको छ।

विज्ञप्तिअनुसार बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिनेछ। उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघरमा भेला भएर प्रदर्शन गर्ने तथा उपत्यकाबाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र कार्यस्थलमै विरोध प्रदर्शन गर्ने निर्णय गरिएको संघले जनाएको छ।

चिकित्सक संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही नगरेको उल्लेख गरेको छ। न्यायको माग गर्दै पुगेका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप लगाउँदै संघले उक्त घटनालाई अत्यन्तै लज्जास्पद भएको बताएको छ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार