सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, संयम अपनाउन आग्रह



काठमाडौँ, १२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेका संवेदनशील तथा दुःखद् घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

रास्वपाले कुनै पनि समस्या वा असन्तुष्टिको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गरेको छ। पार्टीले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आम नागरिक, नागरिक अगुवा तथा सरोकारवाला पक्षलाई आग्रह गरेको छ।

पार्टीले अफवाह र उत्तेजनाको पछि नलागी उच्च संयम अपनाउन सबैलाई अनुरोध गरेको छ। साथै परिस्थिति सामान्य बनाउन, शान्ति सुरक्षा कायम गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमार्फत रास्वपाले पीडितलाई न्याय, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न समेत माग गरेको छ।

रास्वपाले उक्त घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ। पार्टीले आफ्ना स्थानीय समिति तथा कार्यकर्तालाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार