देवानगञ्ज घटनाप्रति सरकारको ध्यानाकर्षण, संयमित रहन आग्रह



काठमाडौं, १२ साउन । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटना तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको जानकारी दिएको छ।

विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको उल्लेख गरिएको छ। समितिलाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको र समितिले काम सुरु गरिसकेको जनाइएको छ।

सरकारले पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न प्रतिबद्ध रहेको जनाएको छ।

कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने सरकारको भनाइ छ। सरकारले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।

विज्ञप्तिमार्फत सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन अपिल गरेको छ। साथै उत्तेजना फैलाउने, भ्रामक सूचना प्रसारण गर्ने तथा अफवाह फैलाउने कार्यबाट टाढा रहन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

सरकारले मुलुकमा शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार