उमेरमैत्री हवाई यात्राबारे संवाद गर्न हिमालय एअरलाइन्समा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल
काठमाडौं, १२ साउन । हिमालय एअरलाइन्सले उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि ज्येष्ठ नागरिक अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (OHCHR) तथा इन्टरनेसनल एभिएसन इनोभेसन अर्गनाइजेसन (IAIO–NARDO) को विशिष्ट प्रतिनिधिमण्डललाई स्वागत गरेको छ।
जुलाई २४ मा एअरलाइन्सको प्रधान कार्यालयमा भएको कार्यक्रममा OHCHR अन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सी, IAIO–NARDO का संयुक्त राष्ट्रसंघीय कार्यालय जेनेभा (UNOG) तथा युरोपेली संघसम्बन्धी निर्देशक चाइ शुआई र संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत चेन केजियान सहभागी भएका थिए।
छलफलका क्रममा ज्येष्ठ नागरिकलाई हवाई यात्रामा आइपर्ने चुनौती तथा उनीहरूलाई थप सहज, सुरक्षित र सम्मानजनक सेवा कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा विचार आदानप्रदान भएको हिमालय एअरलाइन्सले जनाएको छ। एअरलाइन्सले ज्येष्ठ यात्रुका लागि हाल सञ्चालन गरिएका सेवा तथा आगामी योजनाबारे जानकारी गराएको थियो।
अन्तरक्रियामा ज्येष्ठ यात्रुहरूको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै हवाई यात्रालाई थप सहज, पहुँचयोग्य तथा समावेशी बनाउन सकिने उपायबारे छलफल भएको जनाइएको छ।
सो अवसरमा डा. चित्रलेखा मास्सीले ज्येष्ठ नागरिकका अधिकार तथा विश्वका विभिन्न मुलुकमा अवलम्बन गरिएका अभ्यासबारे चर्चा गरेकी छन्। उनले उमेरमैत्री तथा समावेशी अभ्यासको प्रवर्द्धनका लागि निरन्तर ज्ञान आदानप्रदान र सहकार्य आवश्यक रहेको बताएकी छन्। साथै हवाई उड्डयन क्षेत्रमा समावेशी सेवासम्बन्धी चेतना र बुझाइ विस्तार गर्न आफ्नो संस्था सहकार्य गर्न तयार रहेको उल्लेख गरेकी छन्।
हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले सबै यात्रुले उमेरका आधारमा कुनै भेदभावविना सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्ने एअरलाइन्सको मान्यता रहेको बताए। उनले ज्येष्ठ नागरिकमैत्री तथा समावेशी उड्डयन सेवाका विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग संवाद गर्न पाउनु गौरवको विषय भएको उल्लेख गरे।
हिमालय एअरलाइन्सले उक्त अन्तरक्रियालाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। एअरलाइन्सले हवाई यात्रालाई थप समावेशी, पहुँचयोग्य, यात्रुकेन्द्रित तथा सम्मानजनक बनाउन निरन्तर सिकाइ, ज्ञान आदानप्रदान र सहकार्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार







