सुनसरी घटनालगायत विषयमा छलफल गर्न सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं, १२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपाका महामन्त्री बिपिन आचार्यले बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक बस्ने जानकारी दिएका छन्।

महामन्त्री आचार्यले सुनसरीमा भएको संवेदनशील तथा दुःखद घटनापछि उत्पन्न परिस्थितिका विषयमा सामूहिक छलफल आवश्यक ठानिएकाले बैठक बोलाइएको बताए। उनले सामाजिक सद्भाव, शान्ति सुरक्षा तथा द्वेष न्यूनीकरणका लागि राजनीतिक दलहरूबाट साझा सन्देश र अपिल आवश्यक रहेको उल्लेख गरे।

रास्वपाले जारी गरेको संक्षिप्त प्रेस नोटमा प्रशासनिक प्रयाससँगै राजनीतिक रूपमा पनि साझा धारणा निर्माण गर्न बैठक आयोजना गरिएको जनाइएको छ।

महामन्त्री आचार्यले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकका लागि पत्राचार गरिएको जानकारी दिए। उनले सभापति लामिछानेले विभिन्न दलका नेताहरूलाई स्वयं फोन गरेर पनि बैठकमा सहभागी हुन निमन्त्रणा गरेको बताए।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार