लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा



दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामापत्र बुझाएकी छन्।

राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको कांग्रेसले जनाएको छ। कांग्रेस सरकारबाट बाहिरिएसँगै प्रदेशमा नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

कांग्रेसको समर्थन फिर्तापछि लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको सरकार गठनको तयारी सुरु भएको जनाइएको छ। नयाँ मन्त्रीहरूको नियुक्ति तथा मन्त्रालय बाँडफाँटबारे दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको स्रोतहरूले बताएका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार