राजधानीमा विद्युत् लाइन भूमिगत गरिँदै, सडक भत्काउने तयारी


 


काठमाडौं, असार २२

उपत्यकाका सडक अब नेपाल विद्युत् प्राधिकरणले भत्काउने भएको छ । प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले सडक भत्काउन लागेको हो । तर, मूल सडक नभएर पेटी मात्रै भत्काएर विद्युत् लाइन भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्जआसपासका सडक भत्काइनेछ । मेलम्ची खानेपानी आयोजनाको जसरी मूल सडक नभत्काइने उनले बताए ।

एडिबीको १५ अर्ब सहयोग
विद्युत् लाइन भूमिगत गर्ने योजनाका लागि एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । सरकारले आगामी आर्थिक वर्षभित्र उपत्यकाका केही स्थानको प्रसारण लाइन भूमिगत गर्ने योजना बनाएको छ ।

प्रसारण लाइन भूमिगत गर्ने क्रममा कमभन्दा कम सडक भत्काउन सडक विभागसँग समन्वय गरिने प्राधिकरणको भनाइ छ । भत्काइने सडकपेटीको लम्बाइ र विद्युत् प्रसारण लाइन भूमिगत गरिँदा लाग्ने खर्चको विवरण प्राधिकरणले सार्वजनिक गरेको छैन ।

तारमा रेडियो कम्युनिकेसन इन्डिकेटर
प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जिपिएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत संकलन गर्नेछ ।

सँगै, ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ । केन्द्रले सोही सूचनाका आधारमा तुरुन्तै अपरेट गर्नेछ ।

‘प्रसारण लाइन भूमिगत गर्ने काम नेपालमै पहिलोपटक हुँदै छ । यो अत्यन्त जटिल र प्राविधिक विषय हो । यो उच्च प्रविधियुक्त पनि छ । प्रत्येक मिटर स्मार्ट मिटर हुनेछन् । ‘डिस्ट्रिब्युसन अटोमेसन’ हुनेछ । जिपिएस प्रणालीमार्फत प्रसारण लाइनको ट्र्याक गरिनेछ,’ प्रवक्ता अधिकारीले भने ।

पहिलो चरणमा ९० हजार ग्राहकका घरमा भूमिगत लाइन

उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक छन् । पहिलो चरणमा २५ प्रतिशत प्रसारण लाइन भूमिगत गरिनेछ । जसअनुसार ९० हजार ग्राहकका घरमा जोडिने विद्युत् लाइन भूमिगत हुनेछ । एक वर्षभित्र प्राधिकरणले यो काम सम्पन्न गर्ने योजना बनाएको छ । ‘उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार मिटर वितरित छन् ।

त्यसमध्ये ९० हजार मिटर भूमिगत हुनेछन्,’ प्रवक्ता अधिकारीले भने । पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् । यो योजना सफल भएपछि मात्रै प्राधिकरणले अन्य क्षेत्रको प्रसारण लाइन भूमिगत गर्नेछ ।

 

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्