मतदाता नामावली संकलन भोलिदेखि, नाम दर्ता जिल्लाबाट मात्रै


 



काठमाडौं, असार ३१
निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य भोलिदेखि सञ्चालन गर्ने भएको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

भोलि (आइतबार) अर्थात साउन १ गतेदेखि हुने मतदाता संकलन कार्य १५ गतेसम्म चल्नेछ । यसपटक सम्बन्धित जिल्लामै गएर मात्रै मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि जिल्ला बाहिरबाट पनि नाम दर्ता गराउन सकिने भएपनि यसपटक आयोगले नयाँ व्यवस्था लागू गरेको हो ।

आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न भनेको छ ।
आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् ।

आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै आलोचना भएको छ। राजनीतिक दलहरूले पनि नामावली संकलनको समय थप्न र बसेकै ठाउँबाट नाम दर्ता गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्