अघि बढ्यो देउवाको दिल्ली यात्राको तयारी, कहिले जाँदैछन् ?


 



काठमाडौं, साउन २
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो ।

परराष्ट्र अधिकारीका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ । दुवै भ्रमणको तिथि भने तय भइसकेको छैन । अाजको कान्तिपुरमा खबर छ ।

नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ । देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी तिथि मिलाउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए ।

उपप्रधान तथा परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव युवराज चौलागाईले मिति मात्र नभएर एजेन्डाका विषयमा समेत अन्तरमन्त्रालय छलफल अघि बढाइएको बताए ।

यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार २० गते फर्किएका थिए । प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिएका थिए ।

देउवाको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री मोदी, बिहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत छलफल भइरहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा खासै धेरै सम्झौतामा हस्तक्षर हुनेछैनन् । करिब डेढ महिना पहिले चौथोपटक प्रधानमन्त्री बनेका देउवाको आगामी भारत भ्रमण नै पहिलो विदेश भ्रमण हुनेछ ।

देउवाले भारतजस्तो छिमेकलाई चिढ्याएर होइन, सहकार्य गरेर नै अघि बढ्नुपर्छ भन्ने मान्यतामा भ्रमणलगायत कार्यमा जोड दिएका छन् ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्