नेपाल औषधि लिमिटेडले असोजबाट सिटामोल उत्पादन गर्ने



काठमाडौँ, साउन २

नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ । गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो ।

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो ।

सरकारले जिएमपीअनुसार पुनः सञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो ।

लिमिटेडका महाप्रबन्धक डा रोवर्स कुसुम सुवेदीले असोजबाटै उत्पादन गर्न तयारी थालिएको बताउनुभयो । सञ्चालनमा आएको तीन महिनाभित्र सिटामोललगायतका औषधिहरु उत्पादन गर्ने लक्ष्यअनुरुप नै काम भइरहेको उहाँको जानकारी दिनुभयो ।

लिमिटेडले बालबालिकालाई मध्यनजर गरी सुन्तलाको स्वादमा जीवनजल उत्पादन गरिरहेको छ । सुदूरपश्चिमका जिल्लामा बढी जीवनजल पठाइएको छ । “अब एक महिनाभित्रै सादा जीवनजल उत्पादन गर्दैछौँ” – महाप्रबन्धक सुवेदीले भन्नुभयो ।

नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ कम्पनी ऐन, २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News