एमालेले कुन प्रदेशका जनप्रतिनिधिलाई कहिले अभिमुखीकरण दिने भयो ?


 


काठमाडौं, साउन ३

नेकपा (एमाले)ले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम तय गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको आजको बैठकले प्रदेश नं १ मा साउन २३ र २४, ३ मा साउन २७ र २८, ४ मा साउन २७ र २८, ५ मा साउन १० र ११ गते, ६ मा साउन २९ र ३० गते र ७ मा साउन ७ र ८ गते अभिमुखीकरण कार्यक्रम तय गरेको हो ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्पन्न बैठकले यसअघि सम्पन्न स्थायी समितिले निर्णय गरेबमोजिम पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रदेशस्तरमा आयोजना गरिने दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको मिति र विषय तय गरेको हो ।

अभिमुखीकरणमा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, अध्यक्ष/उपाध्यक्षमध्ये कुनै एक मात्रमा विजय भएको तहबाट थप एक निर्वाचित वरिष्ठतम वडाध्यक्ष, प्रमुख/उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष नभएका तहबाट दुई वरिष्ठतम वडाध्यक्ष सहभागी हुनेछन् ।

यस्तै पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुख र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुख, जिल्ला इञ्चार्ज र सम्बन्धित प्रदेशका व्यवस्थापिका– संसद्का सदस्यले पनि भाग लिनेछन् ।

अभिमुखीकरणमा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमालेले जनाएको छ  ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्