राप्रपा विवाद : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार


 


काठमाडौं, साउन ४
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् ।

अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी भएनन् । अनुपस्थित नेताहरूले बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने तयारी गरिरहेको बताइन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

क–कसले गरे बहिष्कार ?
कार्यसम्पादन समिति बैठक बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणासम्म छन् । पार्टीमा चन्द वरिष्ठ नेता र मेयर राणा महामन्त्री हुन् ।

त्यस्तै, कार्यसम्पादन समिति सदस्यहरू हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर र हेमजंग गुरुङ गरी सात सदस्य अनुपस्थित भएको धुम्बाराही स्रोतले बतायो । राप्रपाको कार्यसम्पादन समिति १७ सदस्यीय छ । बहिष्कार गर्नेमा सबै राणापक्षीय नेता छन् ।

आफ्ना बाबु वरिष्ठ नेता चन्द बैठकमा अनुपस्थित रहे पनि राप्रपा महामन्त्री जयन्त चन्द भने सहभागी भए । पार्टीको सचिवालय हेर्ने महामन्त्री चन्दले बैठकमा भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने
पदाधिकारी र कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका नेता पशुपतिशमशेर राणाले बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने भएका छन् । ‘अध्यक्षले पार्टी एकीकरणको मूल मर्म लत्याउँदै एकलौटी निर्णय गर्दै हिँड्ने, त्यसको साक्षी बस्न केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य छैन,’ राणाले नयाँ पत्रिकासँग भने ‘म उपस्थित हुन्न ।’

राणा अनुपस्थित हुने भएपछि उनी पक्षीय नेताहरू पनि नजाने भएका छन् । स्रोतका अनुसार राणाले आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई टेलिफोन गरी अनुपस्थित हुन आग्रह गरिरहेका छन् । एकता महाधिवेशनपछि राप्रपाको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बुधबारबाट काठमाडौंमा सुरु हँुदै छ । तीन दिनसम्म चल्ने बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

के–के तय भए केन्द्रीय समितिका एजेन्डा ?
राणा पक्षीय नेताहरू अनुपस्थित कार्यसम्पादन समिति बैठकले बहुमतले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदन बुधबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, महामन्त्री जयन्त चन्दले भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन र अर्का महामन्त्री धु्रवबहादुर प्रधानले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । सबै प्रतिवेदन सर्वसम्मतिबाट पारित गरी केन्द्रीय कार्यसमितिको एजेन्डा बनाएर पेस गर्ने निर्णय बैठकले गरेको उपाध्यक्ष तामाङले बताए ।

 

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्