१ वर्षमा ५० हजार बिद्यार्थी बिदेशतिर, किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?


 


काठमाडौं, साउन ४

एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको छ । अाजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गत वर्ष ३२ हजार ४८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष त्यस भन्दा १८ हजार १७० बढी बिद्यार्थीले आवेदन दिएका छन् ।

शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६५९ बिद्यार्थीमध्ये २४ हजार २३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । अष्ट्रेलियाको भिषा आवेदनका लागि करिव ४५ हजार नेपाली रुपैयाँ पर्छ ।

नेपाली बिद्यार्थीको बिदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । यसबारे अनौपचारिक बिश्लेषणमात्र हुने गरेको छ ।

एक–एकजना मात्र विद्यार्थी जाने १२ देश
आर्थिक वर्ष ०७३-७४ मा १२ देशमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । कतिपय गृहयुद्ध भइरहेका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका नाममा पुगेका छन् । बेलारुस, गुयना, साउदी अरेबिया, स्विट्जरल्यान्ड, स्लोभाकिया, श्रीलंका, रिपब्लिक अफ पोल्यान्ड, होल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया र बहमासमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् ।

विद्यार्थीबाट नेपाललाई १० करोड राजस्व
विदेश अध्ययन गर्न चाहने विद्यार्थीबाट नेपाल सरकारले पनि एक वर्षमा १० करोडभन्दा बढी राजस्व उठाएको छ । ५० हजार ६ सय ५९ विद्यार्थीबाट दुई हजार रुपैयाँ उठाउँदा गत आर्थिक वर्षमा १० करोड १३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?
नेपाली विद्यार्थीको विदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । सो विषयमा अनौपचारिक विश्लेषण मात्र हुने गरेको छ । शिक्षा मन्त्रालयका नो अब्जेक्सन लेटर शाखा प्रमुख डिल्लीश्वर प्रधानले पछिल्लो समय विदेश अध्ययनमा जान चाहनेको संख्या धेरै बढे पनि कारणबारे औपचारिक अध्ययन नभएको बताए । उनका अनुसार विदेश अध्ययनमा आकर्षण बढ्नुका ३ कारण :

-विदेशी डिग्री लिएमा अन्तर्राष्ट्रिय श्रमबजारमा पनि बिक्ने अपेक्षा

-विदेशमा पढ्दै आफ्नो खर्च जुटाउन र बचाउन पनि सकिने अवस्था

-छिमेकी र नातेदारका छोराछोरी विदेशमा पढ्न जाँदा पर्न मनोवैज्ञानिक दबाबले आफ्ना छोराछोरी पनि पठाउने प्रवृत्ति

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्