बम बोक्न बालिका प्रयोग गर्दै बोको हराम


 


कानो, साउन २

नाइजेरियामा बिगतका केही वर्षदेखि आतङ्क सिर्जना गरिरहेको सशस्त्र हतियारधारी  समूह बोको हरामले हालैका दिनहरुमा बम विस्फोटका लागि महिला र बालिकाको प्रयोग गर्ने गरेको छ । सो समूहले महिला र बालिकालाई अपहरण गर्ने र उनीहरुलाई नै बम विस्फोटका काममा प्रयोग गर्ने गरेको बताइएको छ ।
ग्रामीण क्षेत्रबाट त्यस्ता सर्वसाधारण महिला तथा बालबालिकालाई अपहरण गर्ने गरेको र लामो समयसम्म उनीहरुलाई नियन्त्रणमै राखी पछि उनीहरुलाई नै यस्ता कार्यमा जबर्जस्त प्रयोग गर्ने गरेको पाइएको छ । अधिकारीहरुले पछिल्ला वर्षहरुमा उक्त आतङ्ककारी समूहले आतङ्ककारी क्रियाकलापहरुमा पनि बालिकाको प्रयोग गरेको पाइएको बताएका छन् ।
बोको हरामले सन् २००९ देखि सुरु गरेको आतङ्कका कारण कम्तीमा पनि १५ हजार जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । साथै यसबाट अरु कम्तीमा पनि १५ लाख मानिस घरबारबिहीन हुन पुगेका छन् । उनीहरुका अनुसार यसबाट नाइजेरियामा बालिकाको सुरक्षा पनि विस्तारै चुनौतीपूर्ण बन्दै गएको पाइएको छ ।
बोको हरामले शुक्रबार पनि यहाँका तीनजना बालिकालाई बम विस्फोटका लागि प्रयोग गरेका पाइएको छ । उक्त विस्फोट तीन जना बालिकाले गराएका थिए र विस्फोटमा उनीहरु पनि मारिएका छन् । नाइजेरियाको दामातुरु नामक एक नगरमा शुक्रबार गराइएको बम विस्फोटबाट १३ जनाको ज्यान गएको थियो । सो विस्फोटमा परी अरु कयौँ घाइते पनि भएका छन् ।
बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यस्तो हमला जारी राखेका छन् । उक्त नगर पनि नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग भेटवार्ताका लागि अमेरिका लाग्ने तयारी गरिरहँदा यता यस्तो हमला भएको छ ।
साथै शुक्रबार नै उक्त नगरको सुरक्षाको अवस्थाको अध्ययनगरी बोको हरामका विरुद्धमा लड्ने रणनीति निर्माण गर्न नाइजेरियाका सैनिक प्रमुख त्यसतर्फ लाग्ने तयारी गरिरहँदा उनीहरुले यो आक्रमण गरेका हुन् । रासस/एएफपी

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्