आज विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती मनाइँदै


 


काठमाडौं, भदौ २४

नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ ।

 

१९७१ साल भदौ २४ गते बाबु कृष्णप्रसाद कोइराला र माता दिव्यकुमारीका माइला पुत्रका रुपमा जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उनले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए ।

राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए । कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उनले जेल जीवन बिताए ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइराला देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् । कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उनको निधन भएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्