नक्कली सिक्का बेच्न पाँचतारे होटलमामा सम्मेलन, यस्तो छ ठगहरुको जालो



काठमाडौं, भदौ २९
डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ । १ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो । त्यो प्रवचन क्रिप्टोकरेन्सी ‘वानक्वाइन’बारे थियो । त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालिम दिएका थिए ।

वानक्वाइनमा नेपालका तर्फबाट ठगको नेतृत्व गर्नेमा गोविन्द श्रेष्ठ रहेको त्यही भिडियो हेर्दा प्रस्ट हुन्छ । उनका मुख्य सहयोगीमा हीरा भण्डारी, चुडाबहादुर थापा, पंकज बजगाईं, इन्द्रबहादुर कार्की, राज श्रेष्ठ भरत श्रेष्ठ, अशोक श्रेष्ठ र फिरोज बजगाईंलगायत छन् । उनीहरूसहित अन्य ५० जनालाई डा। जाफरले नेटवर्किङको तालिम दिएका थिए । आजको अन्नपूर्णमा खबर छ ।

 

नेपालमा हजारौँले वानक्वाइन खरिद गरिसकेको ती लिडर र लगानीकर्ताको भनाइबाट पुष्टि हुन्छ । वानक्वाइनको वेबसाइटका अनुसार यसको मुख्य कार्यालय बुल्गेरियामा छ । त्यस्तै दुबईलाई केन्द्र बनाएर यसको कारोबार हुने गरेको छ । दुबईमा बस्ने देव भट्टराईले यसको मार्केटिङ गरिरहेका छन् ।

अन्य खाडी मुलुकमा समेत यसको कारोबार भइरहेकाले त्यहाँ रोजगारीमा रहेका नेपालीहरू यसबाट ठगिएका हुनसक्ने अनुमान छ । वानक्वाइनलाई बेलायतमा पंकज बजगाईंले नेपाली समुदायमा नेतृत्व गरेका छन् ।

ठूला होटेलमा अड्डा
ठगहरूले काठमाडौंलगायत प्रमुख सहरका तारेहोटेललाई अड्डा बनाएर ठगीधन्दा सञ्चालन गरिरहेका हुन् । काठमाडौं र विभिन्न सहरका तारेहोटेलमा विभिन्न विदेशी मोटिभेटरलाई ल्याएर नेटवर्क व्यवसायमा लाग्नका लागि उत्प्रेरित गराइरहेका छन् । यसअघि पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा प्रहरीले नेटवर्कको भाषण दिइरहेका वेला ५० जनालाई पक्रिएपछि सानातिना होटेलमा ठगको गिरोह बस्न छाडेका छन् । ती क्वाइनका लिडरहरूले ठूलो रकम खर्च गरेर तारेहोटेलमा सेमिनार गर्ने गरेका छन् । तारेहोटेलमा प्रहरीले छापा नमार्ने तथा अन्य स्थानभन्दा धेरै सुरक्षित रहने भएका कारण धेरै रकम खर्च गरेर पनि तारेहोटेल रोज्ने गरेका हुन् ।

देशभर नक्कली क्रिप्टोकरेन्सीको जालो
नक्कली क्रिप्टोकरेन्सीको जालो देशभर फैलिएको पत्ता लागेको छ । नयाँ पत्रिकाले विभिन्न स्रोतबाट पाएको जानकारीअनुसार मुलुकका अधिकांश भागमा पुगेर ठगहरूले नक्कली र गैरकानुनी क्रिप्टोकरेन्सी बिक्री गर्ने गरेका छन् । मुलुकका ठूला सहरमा मात्रै होइन, साना–साना बजार केन्द्रसम्म पुगेर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेका छन् । अहिलेसम्म ठगहरूले मुलुकभित्र र बाहिरका नेपालीबाट अर्बौँ रुपैयाँ ठगी गरिसकेको अनुमान नेपाल राष्ट्र बैंक स्रोतको छ ।

नेपालमा यसअघि नेटवर्क मार्केटिङमार्फत ठगी गर्नेमध्ये अधिकांश यो पेसामा आबद्ध भएको पाइएको छ । उनीहरूले ग्र्याभिटी क्वाइन मात्रै होइन, इथर, बिटक्वाइन, अल्टक्वाइन, वानक्वाइन, एटिसीक्वाइन, बस्र्टक्वाइन, जिसिआरलगायत क्वाइनमार्फत ठगी गरिरहेका छन् । नेपालमा १५ भन्दा बढी क्रिप्टोकरेन्सीको नाममा ठगी भइरहेको पनि राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News