यी हुन् यस बर्षको म्यागासेसे पुरस्कार पाउने विजेता


 


14285228

मनिला (एपी), साउन १४

यस वर्षको रेमन म्यागासेसे पुरस्कार २ भारतीयसहित ५ दक्षिण र दक्षिण पूर्वी एसियालीले पाउने भएका छन् । पुरस्कार प्रतिष्ठानले बुधबार सूची सार्वजनिक गरेको हो ।

जसअनुसार भारतबाट भ्रष्टाचारविरोधी अभियन्ता सञ्जीव चतुर्वेदी र समाजसेवी अंशु गुप्ता छनोट भएका छन् । अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा हुने गरेको भ्रष्टाचारको छानविन थालेर चतुर्वेदी चर्चामा आएका थिए ।

४० वर्षीय उनी हाल एम्समै उपसचिव छन् । यसअघि सन् २०१२ देखि ०१४ सम्म एम्सको मुख्य सतर्कता अधिकारी थिए । भ्रष्टाचारविरोधी अडानकै कारण उनलाई पदबाट हटाइयो ।

सत्यनिष्ठा, साहस र सरकारी कार्यालयमा हुने भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने उनको दृढताका कारण पुरस्कारका लागि छनोट गरिएको म्यागासेसे प्रतिष्ठानले जनाएको छ ।

४४ वर्षीय गुप्ताले सन् १९९९ मा गुञ्ज नामक गैरसरकारी संस्था स्थापना गरेका थिए । त्यसका लागि कर्पोरेटको आकर्षक जागिर छाडेका थिए । भारतमा दान गर्ने संस्कृतिलाई नयाँ रूप दिनमा उनको योगदानको कदरस्वरूप पुरस्कारमा छनोट गरिएको हो ।

उनको संस्थाले पुराना कपडा र घरायसी सामान संकलन गरेर गरिब परिवारलाई वितरण गर्दै आएको छ । ‘यसबाट इमानदार अधिकारीहरूको मनोबल बढाउने छ,’ पुरस्कारमा छनोट भएपछि चतुर्वेदीले भने ।

उनीहरूबाहेक लाओसकी कोम्माली चान्थाभोङ, फिलिपिन्सकी लिगाया फर्नान्डो एमिलबाङ्सा र म्यान्मारका चाउ थुले पनि म्यागासेसे पुरस्कार पाउने भएका छन् । लाओसमा रेशम बुन्ने लोपोन्मुख प्राचीन विधालाई जीवित बनाएर चान्थाभोङले जीविकोपार्जन गर्ने वर्गसम्म पुर्‍याएकी छन् ।

फर्नान्डोले फिलिपिन्सका लोपोन्मुख कलाकृतिलाई जीवित राख्न योगदान दिएकी छन् । यस्तै, म्यान्मारमा जीवित र मृत व्यक्तिका आधारभूत अधिकारका लागि दिएको योगदानको कदरस्वरूप चाउ थुलाई पुरस्कार दिइने भएको हो । फिलिपिन्सका तेस्रा राष्ट्रपति रेमन म्यागासेसेको स्मृतिमा सन् १९५७ मा उक्त पुरस्कार स्थापना गरिएको हो ।

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्