एमालेले प्रदेशको चुनावमा मुख्यमन्त्री तोक्छ कि तोक्दैन् ?


 


काठमाडौं, असोज ७
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् ।

शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न आठ समूहमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेका सचिव ज्ञवालीले बताए।

उनका अनुसार प्रदेश नं १ का तर्फबाट डा शिवमाया तुम्बाहाम्फे, प्रदेश नं २ बाट सत्यनारायण मण्डल, प्रदेश नं ३ बाट काशिनाथ अधिकारी, प्रदेश नं ४ बाट गणेश तिमिल्सिना, प्रदेश नं ५ बाट दलबहादुर राना, प्रदेश नं ६ बाट यामलाल कँडेल, प्रदेश नं ७ बाट उपाध्यक्ष भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई समेटेर एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव पनि सबै समूहबाट प्रस्तुत भएको उनले बताए । उनिहरुले प्रतिवेदन आधारभूतरुपमा सही रहेको उल्लेख गर्दै अत्यन्त प्रतिकूल अवस्थामा पार्टीले प्राप्त गरेको सफलता गौरवयोग्य भएको र निर्वाचनका क्रममा भएका कमीकमजोरीको समीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

ज्ञवालीका अनुसार आगामी संघीय र प्रादेशिक निर्वाचनमा पार्टीको स्पष्ट बहुमतसहित सबै तहमा सरकार बनाउने गरी ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने सुझावसमेत दिएका थिए।

शुक्रबारदेखि शुरु भएको बैठक आज समूहगत छलफलका क्रममा प्रस्तुत भएका प्रश्न, जिज्ञासा र सुझावका बारेमा प्रत्युत्तर एमाले अध्यक्ष ओलीले दिँदै भोलि नै बैठक सकिदैछ । रासस

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्