विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गयो


 


timthumb (4)बेरुत, साउन १८

सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ। उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको बताइएको छ। सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले सो बारेमा जानकारी दिएको छ।

उक्त सहर विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो। उक्त विमान सो नगरमा बमबारीका लागि प्रयोग भएको हुनसक्ने आशङ्का गरिएको छ। तर यसको पुष्टि भने भएको छैन। सानो विमान भएकोले यसलाई उक्त प्रयोजनमा प्रयोग नगरिएको हुनसक्ने अनुमान छ।

प्राप्त पछिल्लो समाचारअनुसार सो विमान निकै  कम उचाइमा उडेकोले विद्रोहीले खसालेको हुनसक्ने पनि अर्को आशङ्का गरिएको बताइएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले दिएको जानकारी अनुसार सो विमान कम उचाइमा  उडेको र त्यसमा प्राविधिक गडबडी उत्पन्न भएको हुनसक्छ।

सिरियामा सरकारी विमानमात्र उड्ने कानुन बनाइएको छ। तर सरकारी विमान वा सेनाका युद्धक विमान पनि कयौँलाई विद्रोहीले खसालिदिएका छन्। जसले गर्दा यहाँको सरकारले सेनाका कयौँ साना विमान गुमाएको बताइन्छ। सिरियामा गएको कम्तीमा पनि चार वर्षदेखि गुहयुद्ध चलिरहेको छ। जसका कारण दशौँ हजार नागरिकले ज्यान गुमाएका छन्।

रासस/एएफपी

प्रकाशित मिति: १८ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्