छ प्रदेशमा कुरा मिल्दै, झापा, मोरंग, सुनसरी पूर्वि प्रदेशमै रहने


 


काठमाडौं, साउन २०

१६ बुँदे सहमतिमा आठ प्रदेश बनाउने टुंगो गरेका दलहरु अब छ प्रदेश बनाउने र सिमांकनको विवाद पनि टुङ्ग्याउने सहमति नजिक पुगेका छन्। यसरि बन्ने ६ प्रदेशमा पहाडमा मधेससंग जोडिएका चार प्रदेश र मधेशमा दूई प्रदेश रहने छन्।

विवादमा रहेका मधेशका ५ जिल्ला- पुर्वका झापा, मोरंग, सुनसरी तथा पश्चिमाका कैलाली र कंचनपुर मध्ये झापा, मोरंग, र सुनसरी पहाडका जिल्ला सहितको पूर्वी प्रदेशमा रहने लगभग सहमति भएको एक शिर्ष नेताले बताए। पश्चिमका कैलाली र कञ्चनपुर मध्य कञ्चनपुर पश्चिम पहाडका जिल्लासहितको प्रदेशमा रहनेमा पनि पार्टीहरु बीच सहमति छ।

तर कैलालीको विवाद अझै मिलिसकेको छैन। कांग्रेस र एमालेका नेता, विशेषगरी शेर बहादुर देउवा र भिम रावल, कैलाली पुरै जिल्ला पश्चिम प्रदेशमा रहनु पर्ने अडानमा छन् भने, एमाओवादी र लोकतान्त्रिक फोरम कैलाली जिल्लालाई विभाजन गरेर पाहडे बहुल वस्ती भएको भाग पश्चिम प्रदेशमा र थारु बहुल भाग मधेशको नवलपरासी देखि पश्चिमको प्रदेशमा राख्नु पर्ने अडानमा छन्।

१६ बुँदे सहमति बन्नु अघि पनि दलहरु ६ प्रदेश बनाउनेमा सहमत भएका थिए। तर सिमांकन र नामांकनको बिषय नमिल्दा सिमांकन बिनाको ८ प्रदेश बनाउने र नामांकनको जिम्मा प्रदेश सभालाई नै छोड्ने गरी १६ बुंदे सहमतिमा संघीयताको विवाद मिलाइएको थियो।

एमाओवादीले मिश्रित नामांकन राख्न कांग्रेस-एमाले तयार भए आफु छ प्रदेश मान्न तयार रहेको, नामांकन प्रदेश सभालाई छोड्ने भए ८ प्रेदेशमा जाने अडान लिएको थियो। सुझाव संकलनको लागि मस्यौदा जनताकोमा लागे पछि सिमांकन सहितको संघीयताकालागि दबाब परेको थियो।

एमाओवादीले सिमांकन सहितको संघीयता टुंगो लागाउन जोड गरेपछि कांग्रेस-एमालेले लचक हुन एमाओवादीलाई जोड दिएका थिए।   हिजो साँझ एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला बसेर झापा, मोरंग र सुनसरीलाई पहाडका जिल्ला सहित पूर्वी प्रदेशमा राख्नेमा सहतिमा पुगेको ति शिर्ष नेताले बताए।

लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले मोरंग, सुनसरी, सप्तरी, सिराह, र उदयपुरलाई मिलाएर छुट्टै प्रदेश बनाउनु पर्ने जोड गरेका थिए। यी जिल्लामा थारु समुदायको उल्लेख्य उपस्थिति भएकोले गच्छदारले छुट्टै प्रेदेश्को जोड गरेका हुन्।

एमाओवादीले पनि यी जिल्लालाई मिलाएर छुट्टै प्रदेश बनाउनु पर्ने अडान हिजो दिउँसोसम्म राखे पनि साँझ आएर झापा, मोरंग र सुनसरीलाई पूर्वी प्रदेशमै राख्न एमाओवादी सहमत भएको थियो। धर्म निरपेक्षता र नगारिकताका सवालमा अझै कुरा मिलिसकेको छैन।

कांग्रेस एमाले धर्मनिरपेक्षता शब्दनै हटाएर अरु कुनै शब्द राख्नु पर्ने तर्क गरेका छन् भने एमाओवादीले धर्म निरपेक्षता हटाउन नहुने बरु त्यसको व्याख्या गरेर धार्मिक स्वतन्त्रता बारे जनतालाई बुझाउनु पर्ने अडान राखेको छ। नागरिकताको सवालमा एमालेले खुल्ला सीमाले गर्दा धेरै लचिलो हुन नसकिने अडान राखेको छ। आमा वा बाबुको नामबाट नागरिकता दिने सवालमा सहमति जुट्न कठिन रहेको एक नेताले बताए।

सेतोपाटीबाट

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्