यस्तो बन्दैछ काठमाडौं महानगरको अत्याधुनिक भवन


 


काठमाडौ‌ं, कार्तिक १५

काठमाडौं महानगरपालिकाले बागदरवार परिसरमा पौराणिक र आधुनिक शैली ‘फ्यूजन’ गरि बहुतले भवन बनाउने भएको छ ।

कार्यलय राख्ने प्रयोजनमा महानगरपालिकाले बहुतले भवन बनाउन लागेको हो । महानगरपालिकाका अनुसार बागदरवार परिसरमा रहेको हालको हरि भवन भने पुर्ण रुपमा भत्काइनेछ ।

१२ बैशाख ०७२ को भुकम्पबाट क्षति पुगेपछि महानगरपालिका उक्त भवन भत्काउने मनस्थितिमा पुगेको हो । सोही ठाउँमा महानगरपालिकाले पौराणिक र आधुनिक शैली ‘फ्यूजन’ गरि बहुतले भवन बनाउन लगेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बागदरवार परिसरस्थित हरि भवन भत्यकाई आधुनिक भवन बनाउन लागिएको बताए । मंगलवार गरिएको पत्रकार सम्मेलनमा उनले भने,‘बागदरवार परिसरमा रहेको हरिभवन भत्यकाउन लागिएको छ । त्यस ठाउँमा अत्याधुनिक भवन बनाउन लागिएको छ । भवन पौराणिक तथा आधुनिक शैलीको ‘फ्यजन’मा बनाइनेछ ।’

महानगरपालिकाका अनुसार भवन छुट्टाछुट्टै तीन मोहडामा बनाइनेछ । पहिलो मोहडा ऐतिहासिक बागदरवारको स्वरुप झल्कने गरि तीन तलाको बनाइनेछ । यस भवनको भित्रि भाग पौराणिक शैलीमा हुनेछ । तर सुविधा आधुनिक हुनेछ । दोस्रो मोहडा अन्तरगत लिच्छविकालिन शैली अनुसार भवन निर्माण हुने छ । यसको केही स्वरुप मल्लकालिन शैलीसँग पनि मिल्नेछ ।

यो भवन ६.५ तलाको हुनेछ । तेस्रो मोहडा अन्तरगत भने अत्याधुनिक शैली अनुसरण गरि भवन निर्माण गरिनेछ । भवनको उचाई १५ तलाको हुनेछ । ‘टवर’का रुपमा विकास गर्न लागिएको यो भवन महानगरपालिकाको पहिचान हुनेछ । भवनको मथिल्लो तला काठमाडौं उपत्यका अवलोकन गर्न सकिने गरि निर्माण हुनेछ ।

महानगरपालिकाका अनुसार भवन दुई लाख बर्ग फुट जग्गामा बन्नेछ । भवनको लागत बजेट एक अर्व ५० करोड रुपैयाँ अनुमान गरिएको छ । भवन ४२ महिना भित्र तयार हुने महानगरपालिकाको दाबी छ ।

मेयर शाक्यले भने,‘तीन वटै मोहडामा बन्ने भवनमा अत्याधुनिक सुविधा जडान गरिनेछन् । प्रत्येक तलामा लिफ्टको सुविधा हुनेछ । अन्तराष्ट्रिय स्तरका सेमिनार हल हुनेछन् । भवन अपांगमैत्री हुनेछन् । भवनको तल्लो तलामा सय गाडी र सय मोटरसाइकल पार्क गर्न सकिनेछ । परिसरमा पनि ५० गाडी र दुई सय मोटरसाइकल पार्क गर्न सकिनेछ ।’ -नयाँ पत्रिकाबाट

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्