प्रहरी र सशस्त्रबिच कुटाकुट


 


पर्वत, साउन २४

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच शनिबार साँझ पर्वत सदरमुकाम कुश्मामा कुटाकुट हुँदा दुवैतर्फ केही घाइते भएका छन्। बिदा मनाउन मदिरा सेवन गरेर नेपालकै अग्लो कुश्मा–कैया झोलुंगे पुल घुम्न गएका सशस्त्र प्रहरीका हवल्दारसहित जवान र गस्तीमा गएका प्रहरी टोलीबीच सामान्य भनाभन झडपमा परिणत भएको होे ।

घटनामा सशस्त्र प्रहरी बल, चण्डिका गणका खगेन्द्रप्रसाद जोशी र तारा सुनार घाइते छन् । उनीहरुको जिल्ला अस्पताल, पर्वतमा उपचार भइरहेको छ । सशस्त्र प्रहरीका हवल्दार जोशीको निधारमा चोट छ । उनको दायाँहातको चोर औंलासमेत सरेको गणस्रोतले जनाएको छ ।

सशस्त्रतर्फका घाइतेले आफूहरुले शनिबार बिदाको दिन भएकाले मदिरा सेवन गरेको स्विकारेका छन् । सशस्त्रका जवानलाई गस्तीमा रहेको प्रहरी टोलीले बन्दुकको नालले प्रहार गरेको घाइते सशस्त्रका जवानले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा गएका दुई नमबहादुर गुरुङ र डोलराज थापा सामान्य घाइते भएको प्रहरीस्रोतले जनाएको छ । दुवै प्रहरी जवानलाई जिल्ला अस्पताल, पर्वतमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्