दुई हजारभन्दा बढी युवतीको उद्धार


 


लुम्बिनी (रुपन्देही), साउन २४

मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको थ्री एन्जल्स नेपालले उद्धार, रोकथाम र पुनःस्थापनाका माध्यमबाट आव २०७१/०७२ मा दुई हजार ५९८ जनाको उद्धार गरेको छ । थ्री एन्जल्सले भारतबाट एक, नेपाल–भारत सीमा क्षेत्रबाट १२५, सीमानाकामा दुई हजार १४२ र समुदायस्तरबाट ३३० जनाको उद्धार गरेको भैरहवा प्रमुख दीपक भट्टले जानकारी दिए।

‘नेपाली चेली’ र ‘स्वास्थ्य नै धन’लगायत रेडियो कार्यक्रम गर्दै आएको सो समूहले परामर्श, सूचना पर्चा वितरण, घरदैलो कार्यक्रमलगायत कार्य गर्दै आएको बताएको छ। थ्री एन्जल्सको मुख्य उद्देश्य सीमानाकामा जाँचभन्दा पनि समाजमै सचेतना फैलाई अवैध मानव ओसारपसारलाई निरुत्साहन गर्नु रहेको थ्री एन्जल्स नेपाल पोखराका फिल्ड कोर्डिनेटर नारायणप्रसाद दवाडीले जानकारी दिए।

उक्त समूहले मानव बेचबिखनविरुद्ध रुपन्देहीमा दुई र दोलखामा एक मुद्दासमेत दर्ता गरेको छ। रासस

प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्