नेपालमा बच्चा जन्माएर इजरायल


 


bachhhaडेब्रा कामिन

तेलअभिभ (इजरेल)- शक्तिशाली भूकम्पले नेपालमा ताण्डव मच्चाएको ठिक तीन दिनपछि वैशाख १५ गते मंगलबार दिउँसो एउटा इजरेली बोइङ–७४७ हवाईजहाज तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो। जहाजमा २ सय २९ यात्रुमध्ये १५ जना ‘सरोगेट’ शिशु थिए। नेपालमा जन्मेका ती सबै शिशुको उमेर ६ साताभन्दा कम थियो।

१५ शिशुमध्ये केही इजरेली आमाबाबुसँग थिए भने अरूलाई जहाजका इजरेली यात्रुले स्याहार्दै ल्याएका थिए। तर ती शिशुका सरोगेट आमा भने इजरेली जहाजमा थिएनन्, किनभने उनीहरूलाई शिशुसँगै जहाजमा जान अनुमति थिएन।

बेन गुरियन विमानस्थलमा १५ शिशुको अवतरणसँगै नेपालबाट इजरेल भिœयाइएका सरोगेट शिशुको खेप सकिँदा नेपालमा भने भूकम्पको मृतक संख्या ४ हजार उकालो लाग्दै थियो। ती १५ जना शिशु इजरेल पुगेसँगै नेपालबाट लगिएका इजरेली सरोगेट शिशुको संख्या भने २६ पुग्यो।

तेलअभिभका सडकमा इजरेली चिकित्सकले सरोगेट नवजात स्याहार्दै गरेका तस्बिर इजरेलभर व्यापक भएपछि ‘सरोगेट शिशुका लागि नेपाली सरोगेट आमामाथि इजरेली निर्भरता’ विषय पनि उत्तिकै प्रचारित भयो। यससँगै नेपाल र इजरेलबीच त्यसबेलासम्म अज्ञात रहेको यस्तो सम्बन्धले इजरेलमा अन्तर्राष्ट्रिय सरोगेसीबारे नैतिकताको विवाद पनि सिर्जना गर्योब।

इजरेलमा विपरीत लिंगी दम्पतीले मात्र सजिलै सरोगेट आमा भाडामा लिन पाउने कानुनी व्यवस्था छ। गे (समलिंगी पुरुष दम्पती) र एकल अभिभावकले सरोगेट शिशुका लागि विदेशकै मुख ताक्नुपर्छ। सरोगेसीको खर्च थोरै लागे पनि स्तरीय चिकित्सा खर्च सामान्यतया बढी लाग्ने भारत नै धेरै वर्षसम्म यस्ता इजरेलीको पहिलो प्राथमिकतामा थियो। तर भारतले सन् २०१३ मा कानुन परिवर्तन गरी समलिंगी पुरुष र विवाह भएको दुई वर्ष पनि नपुगेका दम्पतीले सरोगेट शिशुका लागि सरोगेट आमा राख्न नपाउने व्यवस्था लागू गर्योष।

भारतले कानुनी प्रावधान परिवर्तन गर्दा कतिपय इजरेलीका सरोगेट शिशु जन्मन बाँकी नै थिए। कानुन परिवर्तनपछि सरोगेट भारतीय आमाहरू सुत्केरी हुन नेपाल यात्रामा गए। त्यसपछि इजरेलका सरोगेसी एजेन्सीहरूले आफ्नो सरोगेसी कारोबार भारतबाट विस्थापन गरी नेपालमा गर्न थाले।

नेपालमा पहिलो इजरेली सरोगेट शिशु सन् २०१४ जनवरीमा जन्मेको थियो। त्यसपछि इजरेलमा सरोगेट शिशुसम्म पहुँच नहुने इजरेलीको गन्तव्य नेपाल भयो। अधिकांश युरोपेली र एसियाली राष्ट्रले व्यापारिक सरोगेसीमा प्रतिबन्ध लगाइसकेको स्थितिमा अमेरिका र क्यानडामा सरोगेट शिशुका लागि १ लाख ५० हजार अमेरिकी डलरसम्म खर्च लाग्छ भने नेपालमा ३० हजार अमेरिकी डलर मात्र।

नेपालमा गएको विनाशकारी भूकम्पबाट आत्तिएर इजरेल सरकारले वैशाख १५ भित्रै हतारहतार इजरेली आमाबाबुसहित २६ सरोगेट शिशु इजरेल लैजाँदा इजरेलीका लागि सरोगेट गर्भधारण गरेका नेपाली र भारतीय गरी सय महिला सुत्केरी हुन बाँकी नै थिए।

इजरेलका महान्यायाधिवक्ता एहुद विन्स्टिनले ती सरोगेट आमामध्ये असुरक्षितजस्तो देखिनेलाई इजरेलमा नै गएर शिशु जन्म दिन अनुमति दिइने जनाए। पद त्याग्न लागेका गृहमन्त्री गिलाड एर्दानले पनि सरोगेट शिशुबारे नेपाल वा भारत सरकारलाई कुनै कठिनाइ भए इजरेल सम्भव भएसम्म छिटो शिशु लैजान र प्रक्रिया नै रोक्न पनि तयार रहेको बताएको इजरेली सञ्चारमाध्यमले जनाए।

सरोगेट शिशु र आमाको कटु अनुभवबारे इजरेलमा प्रकाशित समाचारले नेपालको भूकम्पको त्रासदीलाई समेत छायामा पार्यो । कतिपय इजरेलीले सरोगेट शिशु ल्याउन सरकारी रकम दुरुपयोग भएको भन्दै सरकारको आलोचना गरे भने कतिपयले सरोगेसीसम्बन्धी कानुन इजरेली सरकारले पुनर्मूल्यांकन गर्नुपर्ने आवाज उठाए। ‘हारित्ज’ अखबारको विचार पानामा छापिएको एउटा लेखमा त यसभन्दा पनि अघि बढेर शिशुलाई अपनत्व देखाएको, तर सरोगेट आमाप्रति कुनै सहानुभूति नदेखाएको भन्दै इजरेली जनतामाथि आरोप लगाएको थियो।

लेखक आलों–ली ग्रिनले लेखमा ‘जटिल आर्थिक–सामाजिक पृष्ठभूमिका आमाहरू जो आफ्नो गर्भ सरोगेट गर्न अभिशप्त छन्, उनीहरूलाई भूकम्पको त्रासदीमै छाडेर शिशुको मात्र उद्धार गरी इजरेल ल्याउनु कति जायज र मानवीय छ?’ भनी लेखेका थिए। उनले ती दुःखी सरोगेट आमा र उनीहरूको संवेदनाबारे इजरेली सञ्चारमाध्यमले केही उल्लेख नगरी सरोगेट शिशु र शिशुका इजरेली आमाबाबुलाई मात्र समाचार बनाउनु कति जायज छ भनी प्रश्न गरेका थिए।

इजरेली अधिकारीले गर्भवती सरोगेट आमालाई नेपालबाट उद्धारको विकल्प खोज्न प्रयास गर्ने जनाएका थिए। नेपालबाट इजरेल पुर्यावएका ती शिशुको तत्काल मेडिकल परीक्षण गरिएको थियो। परीक्षणपछि दुई शिशुलाई भने अस्पतालमै राखियो।
अमेरिकाको चर्चित टाइमम्यागाजिनमा अप्रिल २८, २०१५ (वैशाख १५) मा प्रकाशित

यो सामाग्री नागरिक दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्