पूर्वराजा किन सुटुक्क थाइल्याण्ड गए ?


 


gyanendra shahaकाठमाडौं, साउन ३०

देशमा संविधान निर्माणको रस्साकस्सी चलिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने सुटुक्क थाइल्याण्ड पुगेका छन् । तीन दिनअघि अन्तराष्ट्रिय समुदायका केही ब्यक्तिसँग गोप्य भेटघाट गर्न पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड पुगेको निकट स्रोतले बताएको छ ।

बिगत केही समयदेखि विदेश भ्रमणलाई चासो दिँदै आएका पूर्वराजा ज्ञानेन्द्र ६ महिनाकोबीचमा तीन पटक भारत भ्रमण गरिसकेका छन् । भारत जाँदा धेरैलाई थाहा हुने भएपछि उनको गोप्य भेटघाटको थलो थाइल्याण्डलाई बनाएका छन् ।

‘थाइल्याण्डमा को–को सँग भेट हुन्छ, त्यो जानकारी छैन तर भ्रमण राजनीतिक हो’ दरवार निकट स्रोतले भन्यो ‘पूर्वराजालाई भेट्न नयाँ दिल्लीबाट एक टोली थाइल्याण्ड पुगिसकेको छ ।’ थाइल्याण्ड पुगेका पूर्वराजाको राजनीतिक मिशन के हो ? त्यो भने अझै खुल्न सकेको छैन । तर भारतीय संस्थापन पक्ष र अन्य देशका केही ब्यक्तिसँग उनको भेटघाट हुने भएको छ ।

नयाँ संविधानमा राजसंस्थालाई कुनै भूमिका नदिने पक्का भएपछि उनले भूमिकाको खोजि गर्न थालेका छन् । उनले अन्तराष्ट्रिय समुदायसँग पनि यो बिषयमा छलफल गर्ने बुझिएको छ ।

पूर्वराजाले राजसंस्था स्थापना भन्दा पहिलो सर्त नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने धारणा यसअघि भारतीय संस्थापन पक्षसँग आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन पहल गरिदिन आग्रह समेत गरेका थिए ।

भारतीय जनता पार्टीका नेताहरुले पनि नेपाल भ्रमणमा आउँदा राजसंस्था सहितको हिन्दुराष्ट्र बनाउन दलहरुलाई सुझाव दिँदै आएका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्